काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाकाे याे कार्यकाल संवादकाे थलाे बन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभाकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा आफूहरुकाे परीक्षाकाे केन्द्र भएकाे बताउनुभयाे । जनताले समस्या समाधानका लागि आफूहरुलाई चुनेर पठाएकाले आफूहरु निरन्तर जनताकाे निगरानीमा रहेकाे उहाँले बताउनुभयाे ।
परम्परागत राजनीतिले जनतामा जान सक्ने अवस्था नरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'परम्परागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ, हामी निरन्तर जनताको निगरानीमा छौँ ।'
प्रतिनिधि सभाकाे अर्जुन दृष्टि सुशासन र समृद्धिका केन्द्रित हुने पनि उहाँले बताउनुभयाे । आर्थिक समृद्धिकाे महान अभियानमा राजनीतिलाई केन्द्रित गरिने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया नभएर क्रियाकाे राजनीति गर्ने उद्घाेष गर्नुभयाे । उहाँले भन्नुभयाे - 'हामी भर्खैर जनताबाट निर्वाचित भएर आएका छाैं, जनताकाे अपेक्षा चिन्ता र चासाेलाई अन्त्यन्त नजिकबाट नियालेका छाैं, जनताका समस्या सम्बाेधन गर्ने हाम्राे दायित्व हाे ।'
प्रतिनिधि सभामा नयाँ दलकाे प्रवेश लाेकतन्त्र र नागरिक सम्प्रभुताकाे जित भएकाे बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'तपाइँहरुभित्र रहेकाे हुटहुटीकाे सम्मान गर्छाैं,हामी याे दल र त्याे दल नभनेर मिलेरै काम गर्नेछाैं ।'
