काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभा समक्ष धेरै ठूला जिम्मेवारी रहेका बताउनुभएकाे छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशकाे राजनीतिलाई सही बाटाेमा लैजाने र अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रतिनिधि सभा समक्ष रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'देशलाई ठिक ढंगले, लाेकतान्त्रिक ढंगले, देश विकासकाे बाटाेमा अग्रसर हुनुपर्ने, जनताकाे सेवा र लाेकतन्त्रतर्फ अग्रसर हुनुपर्ने र त्यसतर्फ राजनीतिलाई ठिक ढंगले अघि बढाउने अभिभारा हामी सामु छ ।'
राष्ट्रियता सम्बन्धी विषयकाे समाधान,सामाजिक र सांस्कृति पक्ष, राष्ट्रिय संस्कृतिकाे संरक्षणमा लाग्नुपर्ने अभिभारा पनि आफूहरुमाझ रहेकाे बताउनुभयाे । संस्कृति सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले देशकाे अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाे बताउनुभयाे । राजस्व उठ्न नसकेकाे उहाँले बताउनुभयाे ।
धेरै बलिदानपछि आफूहरु लाेकतन्त्रकाे यस अवस्थामा आइपुगेकाे भन्दै उहाँले शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभयाे ।
