काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले विश्वासकाे मत पाउने विश्वास व्यक्त गर्नुभएकाे छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे - 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत प्राप्त गर्नुहुनेछ, म ढुक्क छु, उहाँलाई बधाई दिन्छु, चुनाैती छ भन्ने कुरा स्मरण गराउन चाहान्छु ।'
सरकारका सामु थुप्रै चुनाैती रहेका भन्दै उहाँले सहज परिस्थितिमा सरकार नबनेकाे स्मरण गराउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'हाम्रा अगाडि धेरै चुनाैती छन्,सुशासन कायम गर्ने,भ्रष्टाचार नियन्त्रण गर्ने चुनाैती छन्,आन्दाेलनका घाउमा मलमपट्टी लगाउने चुनाैती छन् ।'
देशका लागि मिलेर काम गर्न उहाँलाई सबैलाई आव्हान गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'बन्न पाएकाे छैन बिगार्ने खेलतिर लाग्याैं भने सबै बर्बाद हुन्छ ।' भूमि,सुकुम्बासी,द्वन्द्वपीडित, नागरिकतासम्बन्धी लगायत थुप्रै समस्या रहेका भन्दै उहाँले ती समस्या समाधान गर्ने चुनाैती आफूहरुमाझ रहेका बताउनुभयाे ।
याे सरकारले लाेकतन्त्रकाे रक्षा, सम्बर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभयाे ।
