काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनमत अनुसारकाे सरकार बनेकाे बताउनुभएकाे छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै मन्त्री लामिछानेले भन्नुभयाे - 'जनमत अनुसारकाे सरकार बनेकाे छ, आम जनताले जस्ताे जनमत दिनुभएकाे थियाे, त्यसै अनुसार सरकार बनेकाे छ ।'
पुरानालाई सच्चिने र नयाँलाई नमात्तिनेगरी जनताले जनमत दिएका उहाँले बताउनुभयाे । मन्त्री लामिछानेले जनताले बजाएको घण्टीको आवाज सदन र सिंगो देशले सुन्ने बताउनुभयाे ।
आफूहरु पदका लागि नभएर सरकारमा बसेर ठूला दलसँग मिलेर जनताकाे सेवा गर्न सरकारमा सहभागी भएकाे मन्त्री लामिछानेले बताउनुभयाे । उहाँले न्यूनतम साझा कार्यक्रमले जनजिविकाका सवालमा खराे भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयाे । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन गर्ने कुरा न्यूनतम साझा कार्यक्रममा समावेश गरिएकाे उहाँले बताउनुभयाे ।
भ्रष्टाचार विरुद्ध सरकार निर्मम भएर खडा हुने मन्त्री लामिछानेले बताउनुभयाे । प्रतिपक्ष दलबाट अड्काउने हाेइन सघाउने काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे । संख्या पुर्याउन मात्र संख्या नजाेडिएकाे र शीर्ष नेताबाट आएकाे वचनबद्धता आएकाे बताउनुभयाे ।
आफ्ना सांसद्हरुले कुनै पनि खालका अनियमितता नगर्ने प्रतिबद्धता समेत मन्त्री लामिछानेले गर्नुभयाे । उहाँले भन्नुभयाे - 'हामी आफ्नाे कर्तव्य पालना गर्ने कुरामा कहिँ कतै चुक्याैं भने पदमा र कुर्सीमा टाँसिरहने छैनाैं,प्रधानमन्त्री र सत्ता साझेदार दलसँग पनि प्रतिबद्धता जनाउँछाैं ।'
