काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले नेपाली जनताले परिवर्तन चाहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले गएको निर्वाचनमा नेपाली जनताले दिएको मतले परिवर्तन खोजेको बताउनुभयो । नेपाली जनताले निर्वाचनमा नयाँ दललाई पनि नमातिने गरी मत दिएका र ठुला दललाई पनि सच्चिन चेतावनी दिँदै मत घटाइदिएको लामिछानेले बताउनुभयो । अहिलेको सरकार त्यही जनमत अनुसारकै बनेको पनि उहाँले दाबी गर्नुभयो । ‘जनमत अनुसारको सरकार बनेको छ’, लामिछानेले भन्नुभयो ।
सरकारको न्यूनतम साझा कार्यक्रम निर्मम रूपमा कार्यान्वयन भयो भने नागरिकले देखिने गरी सेवाको अनुभूति गर्ने लामिछानेले बताउनुभयो । सरकारको न्यूनतम कार्यक्रमले जनतामा आशा जगाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संसदमा प्रतिपक्षीलाई पनि सकारात्मक भूमिका निर्वाह गर्न लामिछानेले आग्रह गर्नुभयो । उहाँले हलो अड्काउने गरी होइन रचनात्मक सहयोग गर्ने भूमिका निर्वाह गर्न प्रतिपक्षलाई आग्रह गर्नुभयो ।
सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको फाइल खोल्ने न्यूनतम कार्यक्रममा नै उल्लेख गरेको बताउँदै लामिछानेले त्यसको विरुद्ध सरकार निर्मम भएर खडा हुने स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचार र अनियमितताको अनुसन्धानमा काहीँ कतै अड्न नगर्न पनि आग्रह गर्नुभयो ।
