काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले जनताले कुनै एउटा राजनीतिक दल माथि पूर्ण विश्वास गर्न नसकेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता समेत रहनुभएका लिङदेनले अहिलेको जनादेशले सबै दल र विचारलाई मिलाएर मात्र देशको विकास गर्न सकिने सन्देश दिएको बताउनुभयो । कुनै पनि विचार र राजनीतिक दललाई कुल्चिएर अघि बढ्ने अवस्था नरहेको लिङदेनले बताउनुभयो । ‘विश्वास छ जनताको यो अभिमतलाई सम्मान गर्दै हामी अगाडि जान सक्ने छौँ’, उहाँले भन्नुभयो ।
देश अहिले समस्याको चाङमा रहेको बताउनुभयो । ‘कसैले कसैलाई निषेध गरेर अगाडि बढ्ने अवस्था छैन, हामी सबैका विचारभन्दा माथि देश छ, देश भन्दा माथि केही पनि छैन, त्यसकारण देशलाई सिरमा राखेर मुलुकका यावत समस्या समाधान गर्ने तर्फ हामी अग्रसर हुन सकौँ’, लिङदेनले भन्नुभयो ।
लिङ्देनले देशले स्थिरता चाहेको तर्फ सबैलाई सचेत गराउनुभयो । राप्रपा कहिल्यै पनि अस्थिरताको पक्षमा नरहेको उहाँले बताउनुभयो ।
