काठमाडाैं । एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले वर्तमान संसद् र सरकारबाट जनताले धेरै अपेक्षा गरेका बताउनुभएकाे छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभा बैठककाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै नेता नेपालले भन्नुभयाे - 'याे सरकारबाट नागरिकले धेरै अपेक्षा गरेका छन्, संसद्बाट पनि अपेक्षा गरेका छन् ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै उहाँले जनअपेक्षा अनुसार अघि बढ्न सुझाव दिनुभयाे । सबैले संविधान र कानुनकाे पालना गर्नुपर्ने भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री पनि संविधानकाे पालना गरेर हिँड्नुपर्ने भन्ने कुरा वर्तमान प्रधानमन्त्रीले महशुस गर्नुहुने बताउनुभएकाे ।
बाेली एउटा व्यवहार अर्काे हुन नहुने भन्दै उहाँले परिवर्तनको महशुस हुनेगरी काम गर्न प्रधानमन्त्रीलाई शुभकामना दिनुभयाे । अध्यक्ष नेपालले भन्नुभयाे - 'वर्तमान प्रधानमन्त्रीले देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ, बाेली र व्यवहारमा सामञ्जस्यता आहाेस् ।'
भ्रष्टाचार माैलाएकाे,अर्थतन्त्र ध्वस्त भएकाे र जनजिविकाका क्षेत्रमा धेरै समस्या रहेका भन्दै उहाँले यी कुरामा सरकारकाे ध्यान जानुपर्ने बताउनुभयाे । नागरिकहरु चिसाे र शीतलहरबाट प्रभावित भएका भन्दै उहाँले जनताकाे जीवनरक्षाका लागि ध्यान दिन पनि उहाँले सरकारसँग माग गर्नुभयाे ।
