काठमाडौं । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले देशको अर्थव्यवस्था डामाडोल भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् केसीले देशका उद्योग कारखाना बन्द भएर मन्त्री र सांसदको कारखाना खुलेको बताउनुभयो । ‘अहिले पनि नेता, सांसद र मन्त्रीहरू प्रति जनताको आस्था छैन’, केसीले भन्नुभयो ।
यही अवस्था रहे देश थेग्न नसकिने केसीले बताउनुभयो । संघीय शासन व्यवस्था त थेग्नै नसकिने केसीले बताउनुभयो ।
सत्तामा जानका लागि जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने संस्कृति विकास भएको उहाँले बताउनुभयो । सत्ता र शक्ति बाहेक अरू केही होइन भन्ने कुराले जनता खुसी नभएका केसीले बताउनुभयो ।
देशमा हरेक कुरा सेटिङबाट चलेको उहाँले बताउनुभयो । न्यायपालिका, निर्वाचन आयोग र सरकार नै सेटिङट चलेको उहाँले टिप्पणी गर्नुभयो ।
घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भइसकेको उहाँले बताउनुभयो । यसको कारण अहिलेको व्यवस्था नै खतरामा परेको केसीले बताउनुभयो । गणतन्त्र विरोधीबाट भन्दा पनि गणतन्त्रको लागि लडेकाहरूबाट नै देशलाई खतरा भएको केसीले दाबी गर्नुभयो ।
