काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले नेपालमा अहिले पनि निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन नसकेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचनको बेलामा भएका धाँधलीको निष्पक्ष छानबिन आयोग बन्नु पर्ने बताउनुभयो । निर्वाचनको बेलामा मतदाताहरू मतदान गर्न जान नसक्ने अवस्था आउनु दुःखको विषय भएको साहले बताउनुभयो ।
देशको अर्थतन्त्र अहिले जर्जर भएको बताउँदै उहाँले यसको कारण खोजेर समाधानमा लाग्नुपर्ने बताउनुभयो । ‘नेपाली जनताले नेपालमा आफ्नो भविष्य देखेको छैन, नेपालमा नागरिकता लिने लाइन होइन, नागरिकता त्याग्ने लाइन लागेको छ, विदेश जानेको लाइन छ’, उहाँले भन्नुभयो ।
देशको समस्या समाधान आग्रह पूर्वाग्रहबाट होइन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने साहले बताउनुभयो । एकले अर्कालाई आरोप लगाएर समस्या समाधान गर्न नसकिने साहले बताउनुभयो ।
नेपालको अहिलेका स्थितिलाई मौलिक ढङ्गले समाधान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । विगतमा जसरी सङ्कटको मोडमा देशलाई जोगइएकाे थियो त्यसै गरी जोगाउनु पर्ने साहले बताउनुभयो ।
