काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिनुहुने भएकाे छ ।
भोलि बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएकाे हाे । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । साेही अनुसार प्रचण्डले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलकाे बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियाे । प्रचण्डले पुस ११ गते शपथ लिनुभएकाे थियाे ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र ३ स्वतन्त्र ३ सांसद्को समर्थन छ । जसपा,राप्रपा र जनतम भने सरकार सहभागी भइसकेका छैनन् ।
