काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक दिउँसो १ बजेको लागि सरेको छ ।
संघीय संसद्का महासचिव डा. भरत गौतमले एक सूचना जारी गरी बैठक सरेको जानकारी दिनुभएको छ । बैठक विशेष करणले सार्नु परेको सूचनामा उल्लेख छ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रचण्डले पुस ११ गते शपथ लिनुभएको थियो ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र तीन स्वतन्त्र तीन संसद्को समर्थन छ । यस बाहेक माधव नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।
