काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जम्मा दुई सय ७५ सांसद् मध्ये तीन सांसद्ले विश्वसको मत नदिने भएका छन् ।
नेपाली कांग्रेसले विश्वसको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै दाहाललाई आज सांसद्का कूल दुई सय ७२ सांसद्ले विश्वासको मत दिँदै छन् ।
प्रधानमन्त्री दाहाललाई संसद्को ठूलो दल नेपाली कांग्रेसका ८९, सत्ता पक्षमा रहेको एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, नेकपा एसका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४ र दुई स्वतन्त्र सांसद्ले विश्वासको मत दिँदै छन् ।
कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै संघीय संसद करिब प्रतिपक्षविहीन बनेको छ ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्र सांसद् रहेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद् तथा पार्टीका अध्यक्ष चित्र बहादुर केसी र नेमकिपाबाट निर्वाचित सांसद् प्रेम सुवाल विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् भने एमालेबाट विद्रोह गरेर सांसद् जितेका स्वतन्त्र सांसद योगेन्द्र मण्डलले भने तटस्थ बस्ने बताउनु भएको छ ।
