काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे तेस्राे कार्यकाल सम्झन लायक बनाउने प्रतिबद्धता जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकमा विश्वासकाे मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले यस पटक परीक्षा दिन चाहेकाे बताउनुभयाे ।
हिजाे केही अलमलिएपनि यसपटक आफू काम गर्नका लागि प्रधानमन्त्री बनेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'हिजाे क्रान्ति सुरु गर्दा जुन आवेश ममा थियाे, बीचमा केही अलमलिएकाे देखिएपनि, आज त्यहि आवेग र अठाेटसाथ म याे राेस्टममा उभिएकाे छु, तेस्राे पटकका प्रधानमन्त्रीकाे नाम लेखाउन र सिंहदरबार अर्काे कार्यकालकाे फाेटाे झुण्ड्याउन मात्र म यहाँ उभिएकाे पटक्कै हाेइन, म विश्वास दिलाउँछु, हरेक पटक संसद्मा उपलब्धि र रिपाेर्ट कार्डका साथ उपस्थित हुनेछु ।'
आफूलाई विश्वासकाे मत दिए संसद्का हरेक सदस्यले गर्व गर्ने वातावरण मिलाउने प्रतिबद्धता पनि प्रधानमन्त्री प्रचण्डले जनाउनुभयाे । सबैको साथ र सहयोग लिएर राष्ट्र निर्माणमा हाेमिनका लागि विश्वासकाे मत दिन पनि उहाँले आग्रह गर्नुभयाे । प्रतिनिधि सभामा पूर्ण विश्वास र आपसी सद्भावकाे वातावरण बनाउन आफू प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
