काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राजनीतिमा आफ्नो अनुकूल व्याख्या गर्नु नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले पटक पटक प्रतिनिधि सभा विगठन गर्ने नेपाली कांग्रेसले प्रतिनिधि सभा विगठनको विषय उठाउने नैतिक आधार नभएको बताउनुभयो ।
ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयलाई भने स्वागत गर्नुभयो । शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्थामा नयाँ इतिहास रचेको उहाँले बताउनुभयो । यसको देश विदेशमा छलफल र समीक्षा हुने उहाँले प्रष्ट पार्नुभयो ।
ओलीले देशको विकास र समृद्धिमा धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । सबैभन्दा पछिल्लो प्रविधिको प्रयोग गरेर विकासको काम गर्नुपर्ने बताउनुभयो ।
सुशासनको लागि गर्नुपर्ने धेरै काम चुनौतीपूर्ण भए पनि त्यो गर्नै पर्ने काम भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधि सभामा व्यक्त गर्नुभएको प्रतिबद्धता आशालाग्दो भएको बताउनभयो । ‘त्यसैले म आफू त मेरो दलको तर्फबाट त प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गर्छु नै, अरू दल र स्वतन्त्र सांसदज्यूहरूलाई पनि अनुरोध गर्दछु’, ओलीले भन्नुभयो ।
ओलीले नेपाली कांग्रेसले सरकारलाई गरेको समर्थन जाल होइन भने सम्मान गर्ने बताउनुभयो । तर जाल हो भने त्यो जालबाट कुनै माछा नमर्ने ओलीले बताउनुभयो ।
