काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवाले डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताउनु भएकाे छ ।
आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासकाे मत दिने भएसँगै ओलीले कांग्रेसले डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताउनुभएकाे हाे ।
अध्यक्ष ओलीले आफूमाथि संसद विघटन गरेर प्रतिगमनको आरोप लगाएको र राजनीतिमा मौका अनुसारको व्याख्या नगर्न नेपाली कांग्रेसलाई सुझाव दिँदै आफ्नो इतिहास हेर्न आग्रह गर्नुभएकाे थियाे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सम्बाेधन गर्दा विघटनकाे कुरा उठाएपछि एमाले अध्यक्ष ओलीले उहाँलाई जवाफ दिनुभएकाे हाे । विगतमा संसद् विघटन गर्दा देउवालाई आफूले मात्र साथ दिएकाे ओलीले स्मरण गराउनुभएकाे थियाे ।
'अहिले मैले उहाँको एक शब्द खण्डन गर्नु भएन । २०१५ सालमा कांग्रेसकै नेतृत्वमा बनेको संसद २०१७ सालमा विघटन गर्ने राजा महेन्द्र ! त्यो कसका कारण थियो ? २०४८ मा बनेको संसद २०५१ सालमा विघटन गर्ने कांग्रेस हो ।' ओलीले भन्नुभयाे- '२०५८ असारमा देउवाजीले नै संसद विघटन गरेर असोज १८ र माघ १९ आएको होइन । बरु त्यसबेला मैले समर्थन गरेको थिएँ । यदि चुनाव गराउनु भएन भने गलत भयो चुनाव गराउनु भयो भने सही हुन्छ भनेको थिएँ । मैंले त देउवा जीलाई गुरु मानेकाे थिए तर......'
