काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राजनीतिमा मौका अनुसारको व्याख्या नगर्न नेपाली कांग्रेसलाई सुझाव दिनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले आफूले नभएर कांग्रेस र राजाले प्रतिनिधि सभा विघटन गरेकाे बताउनुभयाे ।
त्यसअघि सम्बाेधन गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनकाे कुरा उठाएपछि एमाले अध्यक्ष ओलीले उहाँलाई जवाफ दिनुभएकाे हाे । विगतमा संसद् विघटन गर्दा देउवालाई आफूले मात्र साथ दिएकाे ओलीले स्मरण गराउनुभयाे ।
उहाँले भन्नुभयाे - '०१५ मा संसद् बन्यो, ०१७ मा संसद् विघटन गर्ने राजा महेन्द्र हुन् म होइन, ०४८ मा निर्वाचन भयो ०५१ मा संसद् विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो म होइन, गुरुजी आफूले गरेका कुरा कतिपल्ट संसद् विघटन भो ? कतिपल्ट के भो ? माननीय शेरबहादुरजीले ०५८ मा संसद् विघटन गरेर मध्यावधिमा गएर आश्विन १८ र माघ १९ होइन ? मेरा मित्रलाई म सोध्न चाहन्छु यहाँले होइन संसद् विघटन गर्या ? मैले त्यतिबेला समर्थन गरेको थिएँ अरु सबैले विरोध गर्दा पनि, यदि चुनाव गराउनुभएन भने गलत हो यदि चुनाव गराउनुभयाे भनेर ।'
