काठमाडौं । प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले देश बनाउनेको प्रष्ट दृष्टिकोण हुनु पर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सपना देखेर मात्रै नहुने बताउँदै नेपालले धरातलमा टेकेर समस्याको पहिचान गरी समाधान दिनुपर्ने बताउनुभयो । समस्या समाधानको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
साधन र श्रोतको ख्याल नगरी योजना बनाउँदा त्यस्ता योजना हावादारी हुने नेपालले बताउनुभयो । कुनै योजना बनाउनु अघि गहिरो अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भ्रष्टाचार नियन्त्रणका धेरै कुरा उठेका भए पनि त्यसलाई नियन्त्रण गर्ने कुरा सहज नभएको नेपालले बताउनुभयो । ‘कुरो गरेर मात्र हुँदो रहेन छ, कुरा कम गरौँ, काम धेरै गरेर देखाऊँ’, नेपालले भन्नुभयो ।
भ्रष्टाचारको मुख्य कारण राजनीति र राजनीतिक संरक्षण भएको उहाँले बताउनुभयो । नेपालका नेताहरू गफाडीका राजा भएका बताउँदै नेपालले गफ भन्दा काम गरेर देखाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
