काठमाडौं । प्रतिनिधि सभा सदस्य सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी पाटी मात्र नयाँ नभएर विचार पनि नयाँ लिएर प्रतिनिधि सभामा प्रवेश गरेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै परियारले नेपाली जनताको परिवर्तनको भावनालाई सम्बोधन गर्दै आफूहरू राजनीतिमा आएको प्रष्ट पार्नुभयो । ‘हामी व्यक्तिका रूपमा मात्र होइन विचारका रूपमा पनि नयाँ भएर आएका छौँ, हामी समाजको नयाँ आवाज बोकेर आएका छौँ’, परियारले भन्नुभयो ।
लोकतन्त्र भनेको प्रक्रिया मात्र नभएको परियारले बताउनुभयो । ‘हामीले लामो समयदेखि लोकतन्त्रलाई प्रक्रियाका रूपमा भोग्यौँ, लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गरौँ अनि मात्र लोकतन्त्रको सम्मान हुन्छ’, उहाँले भन्नुभयो ।
नेपालमा लामै लोकतान्त्रिक अभ्यासमा भए पनि नागरिकले लोकतन्त्रको अनुभूति अझै गर्न नसकेको उहाँले बताउनुभयो । लोकतन्त्र सुदृढ गर्नु आजको आवश्यकता भएको उहाँले बताउनुभयो ।
जबसम्म नागरिकका समस्या सम्बोधन हुँदैनन् र आम मानिसले न्याय पाउँदैनन् तबसम्म लोकतन्त्रको अनुभूति नहुने उहाँले बताउनुभयो । ‘जबसम्म निर्मला पन्तहरूले न्याय पाउँदैनन्, तबसम्म लोकतन्त्र सुदृढ र बलियो हुँदैन’, उहाँले भन्नुभयो ।
जसले आफ्नो सुरक्षा आफैँ गर्न सक्दै त्यसको रक्षा सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो । लोकतन्त्र खास गरी महिला, दलित, पछाडि पारिएको समुदायको लागि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले विगतको सानो गठबन्धन टुटाएर ठुलो गठबन्धन सहितको सरकार बनाएको बताउनुभयो । 'सानो गठबन्धन थियो, हामी ठुलो गठबन्धन बनाउन सफल भयौँ' , उहाँले भन्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इतिहास सुरु भएको बताउँदै राम्रो इतिहास बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीेले साथ दिने उहाँले बताउनुभयो ।
