काठमाडौं । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालको संसदमा संसारमा नै नदेखिएको दृश्य देखिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले प्रतिपक्षीले पनि सरकारलाई समर्थन गर्ने घटना विश्वमा नै नयाँ घटना भएको बताउनुभयो । ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, यो कुन किसिमको समर्थन हो ?’, केसीले प्रश्न गर्नुभयो ।
प्रतिपक्षीले समेत सरकारलाई समर्थन गरेर निरङ्कुश सरकार बनाउन खोजेको उहाँले बताउनुभयो । ‘बलियो प्रतिपक्षी नहुँदा सरकार निरङ्कुश हुन्छ’, केसीले भन्नुभयो ।
विगतका कमजोरी छोप्न प्रतिपक्षले पनि सरकारलाई समर्थन गरेको केसीले बताउनुभयो । यसो गरेर सरकार नचल्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीको प्रतिबद्धता सुन्दा कर्णप्रिय भए पनि त्यो कार्यान्वयनमा आउन नसक्ने उहाँले बताउनुभयो ।
बोरामा पैसा लगेर खर्च गरेर चुनाव जितेकाले पैसा कमाउन र विगतको गल्ती लुकाउनको लागि सरकारलाई समर्थन गरेको केसीले बताउनुभयो ।
