काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन प्रति सत्ता गठबन्धन इमानदार रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उहाँले माग्नुभएको विश्वासको मत माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू संविधान कार्यान्वयन र विकास तथा समृद्धिको पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो । ‘संविधानको रक्षाको लागि अन्तिम क्षणसम्म पनि प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु’, प्रचण्डले भन्नुभयो ।
प्रतिनिधि सभा सदस्यहरूले दिनुभएको सुझाव र उठाउनु भएको प्रश्नमा आफू गम्भीर रहेको प्रचण्डले बताउनुभयो । सरकार न्यूनतम साझा कार्यक्रम प्रति प्रतिबद्ध रहेको प्रचण्डले बताउनुभयो ।
रेशम चौधरी टिकापुर हत्या काण्डमा सहभागी नभएको बताउँदै प्रचण्डले उहाँ माथि अन्याय भएको बताउनुभयो । आफू उहाँलाई छुटाउने कुरामा प्रतिबद्ध रहेको प्रचण्डले बताउनुभयो । सदनबाट विधेयक बनाएर कानुनसम्मत ढङ्गले राजनीतिक बन्दीलाई छुटाउने प्रचण्डले बचन दिनुभयो । ‘उहाँहरूलाई छुटाउने पहल सरकारले गर्दछ, म यो प्रतिबद्धता गर्दछु’, प्रचण्डले भन्नुभयो ।
जसका बाबु आमा नेपाली छन् उनीहरूका छोराछोरीलाई यथाशीघ्र नागरिकता दिने उहाँले बताउनुभयो । समग्रमा नागरिकताको समस्या ६ महिना भित्र समाधान गर्ने प्रचण्डले बताउनुभयो ।
