काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दौरा-सुरुवाल विरोधी नभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उहाँले माग्नुभएको विश्वासको मत माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू दौरा-सुरुवाल कोट विरोधी कहिल्यै पनि नभएको बताउनुभयो । कुनै नै कुनै बेला आफूले दौरा-सुरुवाल लगाउँछु भन्ने सोचेको तर त्यो अवसर नजुटेको प्रचण्डले बताउनुभयो । यस पटक अवसर जुटेकोले दौरा-सुरुवाल लगाएको उहाँले बताउनुभयो । ‘दौरा-सुरुवाल, कोट लगाउने अवसर मलाई जुरेको थिएन’, उहाँले भन्नुभयो ।
यस पटक शपथ गर्ने बेला सबैले दौरा-सुरुवाल लगाउँदा राम्रो हुन्छ भन्नुभएकोले दौरा-सुरुवाल लगाएको उहाँले प्रष्ट पार्नुभयो । प्रचण्डले आफूले दौरा-सुरुवाल लगाउने कुरा सञ्चारमाध्यममा आउँदा सबैले सकारात्मक टिप्पणी गरेकोले पनि सो पोसाक लगाउन उत्प्रेरित गरेको बताउनुभयो । ‘म बानी परिसकेको छैन, बानी पर्न प्रयास गर्दै छु’, प्रचण्डले भन्नुभयो ।
