काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे दाेस्राे बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे हाे । २ सय ७० सांसद् उपस्थित भएकाेमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा २ सय ६८ मत परेकाे ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुभयाे ।
विपक्षमा २ मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेकाे जबराले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) का अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले मात्र मत दिनुभएन । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ५ सदस्य भने अनुपस्थित भएका छन् ।
सत्ता साझेदार एमाले सहितका दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र ३ स्वतन्त्र सांसद्ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिनुभयाे ।प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले विश्वासको मत लिनुभएकाे हाे ।
एमालेकाे पहलमा प्रचण्ड तेस्राे पटक प्रधानमन्त्री बन्नुभएकाे थियाे । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रचण्डले पुस ११ गते शपथ लिनुभएको थियो ।
एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र ३ स्वतन्त्र ३ सांसद्को समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएकाे थियाे । तीमध्ये जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टी भने सरकार सहभागी भइसकेका छैनन् ।
