काठमाडाैं । वाग्मती प्रदेश सभाकाे सभामुखको चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको हाे । आजै दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मनोनय फिर्ताको समय तोकिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । पुस २९ गते बिहान ११ बजे मतदान गर्ने कार्यतालिका छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक सुरु भएकाे मितिले १५ दिनभित्र सभामुख छानिसक्नुपर्ने प्रावधान छ । वाग्मती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलाे बैठक पुस १८ गते बसेको थियाे ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
