सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयन प्रक्रिया प्रभावित भएकाे छ ।
बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा 'प्रदेश सभाको सभामुख पदमा निर्वाचित गरियोस्' भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य संख्या नपुगेपछि दुबै प्रस्ताव अस्वीकृत भएका हुन् ।
प्रदेश सभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गर्नुभएकाे प्रस्तावमा मत विभाजनमा पक्षमा २३ र विपक्षमा २६ मत परेकाे थियाे ।
प्रदेश सभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राख्नुभएकाे अर्को प्रस्तावमा मत विभाजन गर्दा पक्षमा २६ र विपक्षमा २३ मत परेको थियो ।
मत विभाजनमा ५० जनाले भाग लिएकामा १ जनाको मत बदर भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत चाहिन्छ ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।
