काठमाडौं । वाग्मती प्रदेश सभाको सभामुखमा भुवन पाठक विजयी हुनुभएकाे छ ।
शुक्रबार बसेकाे वाग्मती प्रदेश सभाकाे पहिलाे बैठकमा भएकाे मतदानमा ६२ मत प्राप्त गर्दै पाठक सभामुखमा निर्वाचित हुनुभएकाे हाे । प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पाठक बहुमतसहित सभामुखमा निर्वाचित भएकाे घाेषणा गर्नुभयाे ।
ज्येष्ठ सदस्य ढुंगानाले कुल १ सय ९ सांसद्ले मतदानमा भाग लिएकाेमा हुन्छ भन्ने पक्षमा ६२, विपक्षमा ३९ र मत दिन्न भन्ने पक्षमा ७ मत प्राप्त भएकाे घाेषणा गर्नुभएकाे थियाे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहनुभएका पाठकलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन थियो ।
सभामुखकाे उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका शिवराज थापाले ३६ मत पाउँनुभयाे भने अर्का उमेदवार सृजना सायजूले ३ मात्र ल्याउनुभयाे ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
प्रदेश सभाकाे अर्काे बैठक आजै दिउँसाे साढे ३ बजे बस्नेगरी स्थगित गरिएकाे छ ।
