काठमाडाैं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभाकाे बैठकमा अधिकारीले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभामा ५८ जना सांसद् उपस्थित भएकाेमा मुख्यमन्त्री अधिकारीकाे पक्षमा ३१ र विपक्षमा २७ मत परेकाे छ ।
अधिकारीलाई एमाले, माओवादी केन्द्र र राप्रपाका सांसद्ले समर्थन गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ जना सांसद् भए बहुमत पुग्छ ।
त्यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएकाे थियाे । सो प्रस्तावमा दलीय आधारमा प्रदेश सभा सदस्यले आफ्नाे विचार राखेका थिए । त्यसपछि मतदान प्रक्रिया सुरु भएकाे थियाे ।
एमाले स्थायी कमिटी सदस्य एवं केन्द्रीय संगठन विभाग प्रमुख समेत रहनुभएका अधिकारी पुस २५ गते गण्डकीकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
मंसिर ४ गते सम्पन्न चुनावमा अधिकारी कास्की निर्वाचन क्षेत्र नम्बर-१ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
