काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्दनारायण देवले संविधानकाे रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिइएकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् देवले संविधानकाे रक्षाका लागि नेपाली कांग्रेसले ठूलाे भूमिका खेलिरहेकाे बताउनुभयाे ।भाेलि हुन सक्ने दुर्घटनाबाट नेपालकाे संविधानलाई बचाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिइएकाे उहाँले बताउनुभयाे ।
'याे मुलुकमा कमरेड प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने प्रयत्न भइराखेकाे छ, हामी त्यसलाई चिर्न खाेजेका हाैं, त्याे प्रयत्नलाई,त्याे प्रवृत्तिलाई,त्याे डिजाइनलाई नेपाली कांग्रेसले परास्त गर्न खाेजेकाे छ,प्रचण्ड प्रचण्डकै रुपमा रहनुपर्छ,एउटा संघर्षकाे प्रयावाचीकाे रुपमा,परिवर्तनकारी विचारकाे रुपमा,युगान्तकारी क्रान्तिकारी एजेण्डाहरुकाे प्रतिककाे रुपमा जुन प्रचण्ड खडा भयाे,जसकाे जगमा गिरिजाप्रसाद काेइरालाकाे साझेदारी थियाे'-सांसद् देवले भन्नुभयाे ।
गिरिजाप्रसाद र प्रचण्ड मिलेर संविधानसभामार्फत संघीय लाेकतान्त्रिक गणतन्त्रकाे एजेण्डा लागू गर्ने भन्ने कुराकाे प्रस्थान विन्दु १२ बुँदे समझदारीबाट सुरु भएकाे उहाँले बताउनुभयाे । त्यहिबेलादेखि नै कांग्रेस र माओवादी जाेडिदै आएका सांसद् देवले बताउनुभयाे ।
संविधान सभाकाे प्रक्रियामा, संविधान बनाउने कुरामा र संविधान लागू गर्ने कुरामा कांग्रेस जाेडिएकाले अहिले संविधानलाई बचाउन प्रचण्डलाई कांग्रेसले विश्वासकाे मत दिएकाे उहाँले दाबी गर्नुभयाे । भाेलि हुन सक्ने दुर्घटनाबाट नेपालकाे संविधानलाई बचाउन दीर्घकालीन रुपमा साेचेर प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासकाे मत दिएकाे सांसद् देवले बताउनुभयाे । उहाँले दाेहाेर्याउनुभयाे - 'प्रचण्ड प्रचण्डकाे रुपमा रहनुपर्छ, पुष्पकमल दाहाल बनाउने सुरुआत भएकाे छ,त्यसबाट सजग रहनुस् कमरेड प्रचण्ड ।'
दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर विकास र समृद्धिकाे यात्रालाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डलाई सांसद् देवले सुझाव दिनुभयाे । देशमा ठूला ठूला आन्दाेलनकाे नेतृत्व नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेका उहाँले दाबी गर्नुभयाे ।
सांसद् देवले थारुहरुलाई न्याय दिन पनि सरकारसँग माग गर्नुभयाे । 'याे मुलुकमा ठूला आन्दाेलन भए तिनकाे नेतृत्व कहिले कांग्रेसले गर्याे,कहिले माओवादीले गर्याे, याे देशमा मधेश, थारु, पहिचान र समानताका आन्दाेलनहरु भए, हरेक आन्दाेलमा मान्छेहरु मारिएका छन्, तर हरेक बेलामा यहाँ न्याय भएकाे छ, राजनीति आन्दाेलनलाई आपराधिक आन्दाेलन भनिएन, अन्याय भएकाे छ थारुहरुमाथि,अन्याय भएकाे रेशम चाैधरीमाथि, त्यसलाई करेक्सन गर्नुपर्छ'-उहाँले भन्नुभयाे ।
संघीयताले आन्तरिक राष्ट्रवादलाई बलियाे बनाएकाे सांसद् देवले बताउनुभयाे । देश टुक्राउने भन्दै चर्काे आवाज उठाउने सिके राउत अहिले संसदीय राजनीतिमा आइसकेकाे अवस्था रहेकाे भन्दै उहाँले संघीयतालाई कम खर्चिलाे बनाउन एउटा माेडल ल्याउनुपर्ने पनि बताउनुभयाे ।
सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र आम नेपाली जनतालाई सेवा प्रवाह दिने सवालमा निरन्तर रुपमा अघि बढ्न पनि सरकारलाई सांसद् देवले आग्रह गर्नुभयाे ।
