काठमाडाैं । प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत पाउनुभएकाे छ ।
शुक्रबार दिउँसाे बसेकाे प्रदेश-१ काे प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभामा उपस्थित ९२ सांसद्मध्ये मुख्यमन्त्री कार्कीकाे पक्षमा ५९ र विपक्षमा ३२ मत परेकाे छ ।
९३ सदस्यीय प्रदेश-१ प्रदेश सभामा एमाले, माओवादी, राप्रपा र जसपाका गरेर सभामुख बाहेक ५९ जना सांसद्ले उहाँलाई विश्वासकाे मत दिएका हुन् । कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ गरेर ३२ सांसद्ले विश्वासकाे मत दिएनन् ।
नेपालकाे संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे थियाे । मुख्यमन्त्री नियुक्त भएकाे छैटाैं दिनमै उहाँले विश्वासकाे मत लिनुभएकाे हाे ।
कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद्काे समर्थन छ । सरकार गठनका लागि ४७ जना सांसद् चाहिनेमा कार्कीलाई ६० सांसद्ले समर्थन गरेका हुन् । ९३ सदस्यीय प्रदेश-१ प्रदेश सभामा नेपाली कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ जना सांसद् छन् ।
कार्की एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश सहइञ्चार्ज हुनुहुन्छ । मंसिर ४ गते सम्पन्न चुनावका कार्की झापा क्षेत्र नम्बर-५ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
