काठमाडाैं । नेकपा एमालेका सांसद् भैरवसुन्दर श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् श्रेष्ठले कांग्रेसले गलत मनसायसाथ सरकारलाई विश्वासकाे मत दिएकाे हुन सक्ने बताउनुभयाे । सत्ता साझेदार दलसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रमुख प्रतिपक्षमा रहेकाे कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिनुले आशंका पैदा भएकाे उहाँले बताउनुभयाे ।
सांसद् श्रेष्ठले सरकारलाई राम्ररी काम गर्न नदिएर कुत्सित मनसाय साथ कांग्रेसले जाल फिँजाएको बताउनुभयाे । संविधानमा कस्ताे खालकाे आपत आइलाग्याे र समर्थन गर्ने अवस्थामा कांग्रेस पुग्याे भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे । सांसद् श्रेष्ठले भन्नुभयाे - 'याे सरकारलाई राम्ररी काम गर्न नदिएर फेरि पनि कुत्सित मनसायसाथ कांग्रेस जाल फिँजाएकाे हाे कि भन्ने हामीले बुझिरहेका छाैं,त्यस्ताे नहाेस् ।'
सत्ता पक्ष निरंकुश बन्न खाेज्याे भने खबरदारी गर्ने काम प्रतिपक्षकाे रहेकाे भएपनि त्यसतर्फ कांग्रेसकाे ध्यान नगएकाे उहाँले बताउनुभयाे । सांसद् श्रेष्ठले भन्नुभयाे - 'यदि विशेष परिस्थिति हुन्थ्याे भने विश्वासकाे मत दिने अवस्था आउँथ्याे, तर सत्ता पक्षमा रहेका दलकाे प्रयाप्त भाेट हुँदाहुँदै आफ्नाे प्रतिपक्षकाे भूमिकालाई बिर्सेर कांग्रेसले लाेकतन्त्रकाे उपहास गरेकाे छ,कांग्रेस यसमानेमा च्युत भएकाे छ,प्रतिपक्षी बेञ्चमा बसेर पनि सरकारलाई खबरदारी गर्न सकिन्छ, ।'
नेपालकाे संविधानले सत्तापक्ष र प्रतिपक्ष भनेर ताेकेकाे स्मरण गराउँदै सांसद् श्रेष्ठले लाेकतन्त्रकाे सुन्दर पक्ष भनेकाे प्रतिपक्ष रहेकाे भएपनि कांग्रेस त्याे कुरा भुलेकाे उहाँले बताउनुभयाे । प्रतिपक्ष छाया सरकार पनि भएकाे र सत्ता पक्षका गलत कामलाई खबरदारी गर्ने काम प्रतिपक्षकाे भएकाे सांसद् श्रेष्ठले बताउनुभयाे ।
सरकारले न्यूनतम साझा कार्यक्रममा अगाडि सारेकाे भन्दै उहाँले ती सबै पूरा हुने विश्वास व्यक्त गर्नुभयाे । प्रधामन्त्री प्रचण्डले याे कार्यकाललाई सम्झनलायक बनाउने उद्घाेष गरिसक्नुभएकाे भन्दै सांसद् श्रेष्ठले सबै पक्षलाई ख्याल गरेर काम गर्न सुझाव दिनुभयाे ।
