काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले देशमा राजनीतिक महाभूकम्प गएकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् गाैतमले देशमा राजतिक भूकम्प मात्र नभएर महाभूकम्प गएकाे बताउनुभयाे । साे महाभूकम्पबाट आफूहरु सम्हालिएकाे समेत उहाँले बताउनुभयाे ।
'हाम्राे देशमा कहिल्यै नगएकाे राजनीतिक महाभूकम्प गएकाे छ र हामी सम्हालिएका छाैं, गत स्थानीय तह चुनावमा गठबन्धन गरेर जाने प्रवृत्ति देखियाे,०७४ मा पनि त्यस्तै भएकाे थियाे र मंसिर ४ काे प्रतिनिधि सभा चुनावमा पनि,नेपालका राजनीतिक पार्टी गठबन्धन गरेर निर्वाचन जाने याे दाेस्राे घटना हाे,गठबन्धन गरेरै जाने हाे भने एउटै पार्टी बनाए के हुन्छ र ?'-गाैतमकाे भनाइ छ ।
सांसद् गौतमले देशको पछिल्लो राजनीतिक महाभूकम्पकाे मुख्य योजनाकार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको बताउनुभयाे ।देशकाे पछिल्लाे राजनीतिक महाभूकम्पकाे परिदृश्यमा ओलीले महाभारतको कृष्ण र प्रचण्डले अर्जुनको जस्तै भूमिका खेल्नुभएकाे उहाँले बताउनुभयाे ।
'यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ, त्यसको निम्ति मूल कृष्ण बनेर भूमिका खेल्ने एमाले अध्यक्ष कमरेड केपी ओली हुनुहुन्छ, मलाई धेरै पत्रकारहरुले सोध्नुभएको थियो - यसपटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाइँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर ? मैले भनेँ- पात्र त प्रचण्ड नै हो, तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने केपी ओली हुनुहुन्छ, यसपटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली र मुख्य पात्र प्रचण्ड हुनुभएको छ'-गाैतमले भन्नुभयाे ।
गठबन्धन गरेर जाने अवस्था भएपनि एमाले र कांग्रेसबीच मुख्य प्रतिष्पर्धा देखिएकाे उहाँले बताउनुभयाे । सानदार बहुमतसहित विश्वासकाे मत पाएकाेमा प्रधानमन्त्री प्रचण्डलाई सांसद् गाैतमले बधाई दिनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुभएकोमा कांग्रेसलाई समेत उहाँले धन्यवाद दिनुभयाे । 'शेरबहादुर र मेराे बीचमा जय नेपाल र लालसलाम तथा कमरेड र मित्र चल्छ,कांग्रेसका अरु नेतासँग हाेइन,उहाँलाई म धन्यवाद दिन्छु' - सांसद् गाैतमले भन्नुभयाे ।
सांसद गौतमले एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको जिकिर पनि गर्नुभयाे । उहाँले भन्नुभयो - 'नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन, त्यो त नियमावलीमा छ, सिद्धान्तमा छ र संविधानमा कहीँ पनि छैन, संविधानले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वमा सरकार बन्छ, अरु सबै प्रतिपक्षमा बस्ने स्पष्ट रुपले बताएको छ, यस पटकको सरकार संविधानको धारा ७६ को उपधारा २ को सरकार हो ।'
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएपनि प्रमुख प्रतिपक्षीकाे भूमिका निर्वाह गर्ने बताइसकेकाे अवस्थामा विराेध गर्न आवश्यक नरहेकाे समेत गाैतमले बताउनुभयाे ।
