काठमाडौं । वाग्मती प्रदेश सभाका सभामुख भुवन पाठक पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । शपथ ग्रहण समाराेहमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागीय मन्त्री उद्धव थापा लगायतकाे उपस्थिति थियाे ।
शुक्रबार बसेकाे वाग्मती प्रदेश सभाकाे बैठकमा भएकाे मतदानमा ६२ मत प्राप्त गर्दै पाठक सभामुखमा निर्वाचित हुनुभएकाे थियाे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री समेत रहनुभएका पाठकलाई एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन थियो ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
