मकवानपुर । बागमती प्रदेश सभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्छ ।
यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा हुनुहुन्छ । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू हुनुहुन्छ ।
प्रदेश सभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।
प्रदेश सभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।
प्रदेश सभाको बैठक माघ २ गते
बागमती प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको उपसभामुख पदको निर्वाचन गर्न प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिनुभयो । आगामी माघ २ गते अपारह्न ३ बजे बस्ने बैठकमा उपसभामुख पदको निर्वाचनको लागि सभामुख पाठकले प्रुमख सचिव खड्कालाई समयतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको थियो ।
सोही निर्देशनअनुसार, प्रदेशसभाका प्रमुख सचिव खड्काले उपभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यतालिका अनुसार, उपसभामुखको निर्वाचन माघ २ गते तोकिएको छ ।
नवनिर्वाचित सभामुख पाठकले शपथग्रहण लगत्तै प्रदेशसभा सचिवालयमा जानुभई आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।
उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दलका शीर्ष नेताले नवनिर्वाचित सभामुख पाठकलाई बधाई ज्ञापन गर्दै प्रजातान्त्रिक मुल्यमान्यता संवैधानिक प्रक्रियालाई आत्मसात गरी प्रदेशको गरिमा बढाउन आग्रह गर्नुभयो ।
उहाँहरुले मुलुकको सार्वभौमसत्ता, प्रदेशको मुल्यमान्यतालाई मर्यादिन एवम् जनताप्रति उत्तरदायित्व बोध हुने गरी सभामुखले आफ्नो भूमिकालाई निष्पक्षताका साथ ग्रहण गर्न र सबै राजनीतिक दलको भावनालाई बुझेर प्रदेश सभाले लिनुपर्ने ऐन, कानून तर्जुमा गर्न सभामुखलाई सुझाव दिनुभयो ।
उहाँहरुले कुनै दलको तर्फबाट उ्रम्मेदवार भएर आएको भएपनि प्रदेश सभाबाट निर्वाचित हुनुभएका सभामुख सबैको साझा व्यक्तित्व भएको हुँदा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक, ऐन कानूनलाई परिपक्व र मर्यादित ढंगबाट क्रियाशील हुन आह्वान गर्नुभयो ।
बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका युवराज दुलाल, नेकपा एमालेका हरि सापकोटा, राप्रपाका संसदीय दलका नेता उद्धव थापा, नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद शर्मा खनाल, नेमकिपाका सुरेन्द्रराज गोरसाईँ र हाम्रो नेपालीबाट शैलेन्द्रराज बज्राचार्यले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक माघ २ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।
-रासस
