काठमाडाैं । गण्डकी प्रदेशमा सभामुख चयनका लागि आज चुनाव हुँदैछ ।
सभामुख चयनका लागि दिउँसाे ३ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएकाे छ । त्यसअघि उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ ।
सत्ता गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएकाे छ । धिताल मंसिर ४ गते सम्पन्न चुनावमा गोरखा क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
प्रतिपक्षी नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाउन बाँकी छ ।
सत्ता साझेदार दलबीच भएकाे सहमति अनुसार गण्डकीमा मुख्यमन्त्री नेकपा एमालेकाे र सभामुख माओवादी केन्द्रकाे भागमा परेकाे छ । एमालेबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासकाे मत पनि लिइसक्नुभएकाे छ । शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाउनुभएकाे हाे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र १ जना स्वतन्त्र (एकीकृत समाजवादीमा प्रवेश गरेका) सांसद् छन् ।
सभामुख चयनका लागि ३१ जना सांसद् चाहिन्छ ।
