काठमाडाैं । गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित हुनुभएकाे छ ।
शनिबार बसेकाे प्रदेश सभा बैठकमा भएकाे मतदानबाट सत्ता गठबन्धनका साझा उम्मेदवार धिताल सभामुखमा निर्वाचित हुनुभएकाे हाे । मतदानमा ५८ सांसद् सहभागी भएकामा धितालकाे पक्षमा ३२ मत परेकाे छ ।
धिताललाई एमालेका २१, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ रस्वतन्त्र सांसद् दीपक मनाङले मत दिनुभयाे । एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभाको अध्यक्षता गर्नुभएका मतदानमा भाग लिनुभएन भने कांग्रेसका १ सांसद् मतदानमा अनुपस्थित रहे ।
सभामुखमा निर्वाचित हुन ३१ सांसद्काे समर्थन चाहिनेमा धिताललाई ३२ जना सांसद्ले मत दिएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा धिताल गाेरखा निर्वाचन क्षेत्र नम्बर-१ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
सभामुखका अर्का उम्मेदवार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मत मात्रै ल्याउनुभयाे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र १ जना स्वतन्त्र (एकीकृत समाजवादीमा प्रवेश गरेका) सांसद् छन् । सभामुख चयन गरेसँगै प्रदेश सभा बैठक माघ २ गतेसम्मका लागि स्थगित भएकाे छ ।
