काठमाडाैं । कर्णाली प्रदेश सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेकी सांसद् नन्दा गुरुङ र प्रमुख प्रतिपक्षीबाट नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलको उम्मेदवारी परेको हो ।
सांसद्द्वय गुरुङ र पाेखरेलले शनिबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । आइतबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुखका चयनका लागि मतदान हुनेछ ।
गुरुङको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र सर्मथकमा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री राजकुमार शर्मा हुनुहुन्छ । मंसिर ४ गते सम्पन्न चुनावमा गुरुङ समानुपातिकतर्फ निर्वाचित हुनुभएकाे थियाे ।
पोखरेलको प्रस्तावकमा कांग्रेस सांसद्द्वय पूर्णबहादुर खत्री र समर्थकमा विजया बुढा हुनुहुन्छ । पाेखरेल मंसिर ४ गते सम्पन्न चुनावमा सुर्खेत १ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएकाे थियाे ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना र स्वतन्त्र १ जना सांसद् छन् ।
