काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन गर्ने प्रयास आज पनि असफल भएकाे छ ।
शनिबार साँझ बसेकाे प्रदेश सभा बैठकमा सभामुख चयनसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्ताव पेस भएकाेमा दुबै प्रस्ताव अस्वीकृत भएका हुन् ।नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य तटस्थ बसेपछि आवश्यक बहुमत संख्या नपुग्दा दुबै प्रस्ताव अस्वीकृत भएका हुन् ।
प्रदेश सभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राखेको अर्को प्रस्तावमा मत विभाजन गर्दा पक्षमा २२ र विपक्षमा पनि २२ मत पर्यो ।
प्रदेश सभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले राखेकाे प्रस्तावमा मत विभाजन गर्दा पक्षमा २२ र विपक्षमा पनि २२ मत परेको थियो ।
यसअघि शुक्रबार पनि बहुमत प्राप्त हुन नसक्दा दुबै प्रस्ताव अस्वीकृत भएका थिए ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसद्काे समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।
