काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभामा आज पनि सभामुख चयनको लागि चुनाव हुँदैछ ।
यसअघि दुई पटक बसेकाे प्रदेश सभा बैठकमा भएकाे मतदानमा कसैकाे पनि बहुमत नपुगेपछि आज पुन: मतदान हुन लागेकाे हाे ।
प्रदेश सभा बैठक अहिले केहीबेरमा बस्दैछ । त्यसअघि सर्वदलीय बैठक बसेकाे छ ।
सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार हुनुहुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख निर्वाचित हुन २७ जना सांसद्काे समर्थन चाहिन्छ ।
पुस २८ गते बसेकाे प्रदेश सभा बैठकमा भएकाे मतदानमा १ मत बदर हुँदा भण्डारी सभामुखमा निर्वाचित हुन सक्नुभएन ।
दाेस्राे पटक पुस ३० गते बसेकाे प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद् तटस्थ बसेपछि भण्डारी र रावल कसैले पनि बहुमत पाउन सक्नुभएन ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । साे व्यवस्था अनुसार आज सभामुख र उपसभामुख चयन गर्नैपर्छ ।
