पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित हुनुभएकाे छ ।
साेमबार बसेकाे गण्डकी प्रदेश सभाकाे दाेस्राे बैठकबाट थापा उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । प्रदेश सभामा भएकाे मत विभाजनमा थापाकाे पक्षमा ३२ र विपक्षमा २६ मत परेकाे सभामुख कृष्ण धितालले घाेषणा गर्नुभयाे ।
प्रदेश सभा बैठकमा कुल ५८ जना सांसद् उपस्थित थिए । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद्ले मत दिएका थिए ।
उपसभामुखकी अर्की उम्मेदवार नेपाली कांग्रेसकी सांसद् पार्वती तामाङले २६ मत मात्र पाउनुभयाे । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र १ जना स्वतन्त्र सांसद् छन् ।
त्यसअघि आजै बसेकाे गण्डकी प्रदेश सभाकाे पहिलाे बैठकले आइतबार पाेखरामा भएकाे यती एयरकाे विमान दुर्घटनामा ज्यान गुमाएकाहरुकाे निधनप्रति शाेक व्यक्त गरेकाे थियाे ।
