काठमाडाैं । मधेश प्रदेश सभाको सभामुख चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।
दिउँसाे १ बजे बस्ने मधेश प्रदेश सभा बैठकमा सभामुख चयनका लागि मतदान हुने कार्यक्रम रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
यसअघि माघ २ गते बस्ने प्रदेश सभा बैठकमा सभामुख निर्वाचनकाे कार्यतालिका थियाे । तर पाेखरामा यती एयरलाइन्सकाे विमान दुर्घटना भएकाेप्रति दु:ख व्यक्त गर्दै बैठक माघ ३ का लागि सारिएकाे हाे ।
मधेश प्रदेशकाे सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराउनुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
कुल १ सय ७ सदस्य रहेकाे मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
