काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक मंगलबार बस्दैछ ।
दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख र उपसभामुख चयन गर्ने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
उम्मेदवारी दर्ताका लागि ताेकिएकाे समयमा सभामुखमा सत्ता साझेदार दलबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विराेध निर्वाचित हुनुभएकाे छ ।
उपसभामुखमा भने नेपाली कांग्रेसकी विश्वप्रेम पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मेनुका खाँड केसी र नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही निर्मलादेवी चौधरीकाे उम्मेदवारी दर्ता भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सभामुखमा निर्वाचित हुन ४४ सांसद् चाहिन्छ । लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा तथा एकीकृत समाजवादीका १-१ जना र १ जना स्वतन्त्र सांसद् छन् ।
