काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
मंगलबार दिउँसाे प्रदेश प्रमुख कार्यालयमा आयाेजि एक कार्यक्रमबीच प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराउनुभएकाे हाे ।
मंगलबार बिहान बसेकाे प्रदेश सभामा बैठकमा २९ मत ल्याएर माओवादी केन्द्रका भण्डारी सभामुखमा निर्वाचित हुनुभएकाे थियाे । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख निर्वाचित हुन २७ सांसद्काे समर्थन चाहिनेमा भण्डारीलाई २९ जना सांसद् मत दिएका छन् ।मतदानमा ५२ जना सांसद् सहभागी थिए ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।
यसअघि पुस २८ र ३० गते भएकाे मतदानमा भण्डारीले सभामुख पदका लागि बहुमत पाउनुभएकाे थिएन । पुस २८ गते १ मत बदर भएकाे थियाे भने पुस ३० गते नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद् तटस्थ बसेका थिए ।
