काठमाडाैं । मधेश प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट मण्डल सभामुखमा निर्वाचित हुनुभएकाे छ । प्रदेश सभा बैठकमा १ सय ३ सांसद् उपस्थित भएकाेमा मण्डलकाे पक्षमा ७४ र विपक्षमा २९ मत परेकाे छ ।
उहाँलाई एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी पार्टी र ४ जना स्वतन्त्र सांसद्ले मतदान गरेका छन् ।
मंसिर ४ गते सम्पन्न चुनावमा मण्डल धनुषा निर्वाचन क्षेत्र नम्बर-१ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका जंगीलाल रायले २९ मत मात्र पाउनुभयाे ।
कुल १ सय ७ सदस्य रहेकाे मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
