काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिष्पर्धा हुने भएको छ ।
सभामुखका लागि उम्मेदवारी दर्ता गर्न दिइएकाे समयमा घिमिरे र न्याैपानेकाे मात्रै उम्मेदवारी परेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बुधबार दिउँसो १ देखि अपरान्ह ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे थियाे । संसद् सचिवालयले उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गरिसकेकाे छ ।
घिमिरे झापा निर्वाचन क्षे नम्बर-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ भने न्यौपाने समानुपातिक सांसद् हुनुहुन्छ । घिमिरेको प्रस्तावकमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ । घिमिरेकाे समर्थकमा माओवादी केन्द्रका सांसद् हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हुनुहुन्छ ।
न्याैपानेकाे प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला हुनुहुन्छ ।
सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मतदान हुनेछ ।
