काठमाडाैं । प्रतिनिधि सभाको सभामुखका लागि आज चुनाव हुँदैछ ।
सभामुखका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
सभामुखको चुनावका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा प्रस्ताव पेस गरिनेछ ।
घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्छ ।न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश समर्थकमा प्रकाश ज्वाला हुनुहुन्छ ।
घिमिरे झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद् हुनुहुन्छ ।
घिमिरेलाई सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद्काे साथ छ । यद्यपि सरकारलाई समर्थन गरेपनि जसपा र नागरिक उन्मुक्ति सरकारमा गएका छैनन् । जनमत पनि असन्तुष्ट छ ।
प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन् । सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसद्काे समर्थन चाहिन्छ । अहिलेकाे सरकारलाई ३ स्वतन्त्रसहित १ सय ६९ सांसद्काे समर्थन छ ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ४ सांसद् छन् । एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसद्काे मात्रै मत जोड्दा पनि देवराजले १ सय ४५ मत पाउनुहुनेछ । सभाध्यक्षको भूमिकामा रहेका राप्रपा सांसद् ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत हाल्नुहुने छैन । जसपा, नागरिक उन्मुक्ति र जनमतका सांसद्ले पनि मत दिएमा घिमिरेले १ सय ६७ मत पाउनुहुनेछ ।
न्याैपानेलाई कांग्रेससँगै एकीकृत समाजवादी र लाेसपाका सांसद्काे समर्थन रहनेछ । प्रधानमन्त्रीमा सरकारलाई विश्वासकाे मत दिएकाे कांग्रेसले सभामुखमा भने प्रतिष्पर्धामा उत्रिएकाे छ । यदि सत्ता साझेदार दलका सांसद्बाट फ्लाेर क्रस नभए घिमिरेले कांग्रेसका ८९ (टेकबहादुर गुरुङ निलम्बित), एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद् गरेर गुरुङबाहेक १ सय २ सांसद्काे मत पाउनुहुनेछ ।
सरकारलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवाल भने अनिर्णित हुनुहुन्छ । जसले बहुमत पाउँछ उ सभामुखमा निर्वाचित हुनेछ ।
