काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सुरु भएको बैठकले आज नयाँ सभामुख चयन गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सभामुखसम्बन्धी दुई वटा प्रस्ताव पेस हुँदै छन् । सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ । सो प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नुहुने कार्यसूची छ ।
त्यस्तै नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य बन्नुभएकी ईश्वरी न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुँदै छ । सो प्रस्तावमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले समर्थन गर्नुहुने कार्यसूची छ ।
सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन् । त्यसको ५१ प्रतिशत सांसदले सभामुखलाई समर्थन गर्नुपर्दछ ।
अहिलेको सरकारलाई ३ स्वतन्त्रसहित १ सय ६९ सांसदको समर्थन छ । त्यसैले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरेलाई सहजै बहुमत पुग्ने देखिन्छ ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ४ सांसद् छन् ।
न्यौपानेलाई कांग्रेससँगै एकीकृत समाजवादी र लोसपाका सांसदको समर्थन रहेको छ । कांग्रेसका ८८ (टेकबहादुर गुरुङ निलम्बित), एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद् गरेर १ सय २ सांसदको समर्थन छ ।
सरकारलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवालले यस विषयमा मुख खोल्नु भएको छैन ।
