काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद् सुवास नेम्वाङले प्रतिनिधि सभाकाे सभामुख पदमा देवराज घिमिरेलाई निर्वाचित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् नेम्वाङ्ले साे प्रस्ताव पेस गर्नुभएकाे हाे । प्रस्ताव पेस गर्ने क्रममा नेम्वाङले सभामुखका लागि घिमिरे उत्कृष्ट उम्मेदवार रहेकाे बताउनुभयाे ।
उहाँले निष्पक्ष सभामुखकाे भूमिका निर्वाह गर्न सक्ने क्षमता भएकाे सांसद् भएकाले आफूले देवराज घिमिरेकाे नाम प्रस्ताव गरेकाे बताउनुभयाे ।
सांसद् नेम्वाङले भन्नुभयाे - 'सबै राजनीतिक दलकाे विश्वासलाई समेट्दै,निष्पक्ष नेताकाे रुपमा, याे प्रतिनिधि सभाकाे निष्पक्ष रेफ्रीकाे भूमिका खेल्न सक्नुहुन्छ भन्ने उहाँसँगकाे संगतबाट थाहा पाएकाे छु, इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उहाँकाे क्रियाशीलतालाई नजिकबाट देखेकाे छु,त्यसैले सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव राख्छु ।'
सभामुखका उम्मेदवार घिमिरेलाई सहयाेग र समर्थन गर्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयाे । घिमिरेले लामाे समय राजनीतिमा दु:ख र बलिदानी गर्नुभएकाे सांसद् नेम्वाङले बताउनुभयाे । कानुनकाे शासन, संसदीय मूल्य र मान्यता आवधिक निर्वाचन सबै विषयमा घिमिरे जानकार रहेकाे उहाँले बताउनुभयाे । ०५६ सालमा राष्ट्रिय सभाकाे सदस्य भएर क्रियाशील हुनुभएकाे सांसद् नेम्वाङले स्मरण गराउनुभयाे ।
मंसिर ४ काे जनमतले दलहरूलाई अहिले पनि मिलेर अघि बढ्ने गरी सन्देश दिएकाे उहाँले बताउनुभयाे ।
