काठमाडौं । प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङले दलहरूलाई स्वच्छ प्रतिस्पर्धाबाट अघि बढ्न आदेश दिएका बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङ जनताले एकले अर्कालाई निषेध गरेर होइन मिलेर अघि बढ्न आदेश दिएका बताउनुभयो । ‘प्रतिनिधि सभा माथि धेरै ठुलो गम्भीर जिम्मेवारी छ’, उहाँले भन्नुभयो ।
अहिले थुप्रै चुनौती भएका बताउँदै उहाँले त्यसलाई अवसरमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । अहिले ती चुनौतीलाई अवसरमा परिणत गर्ने सङ्घारमा प्रतिनिधि सभा उभिएको नेम्वाङले बताउनुभयो ।
प्रतिनिधि सभालाई एकताबद्ध बनाएर र सबैलाई एकजुट बनाई अघि बढ्नको लागि सभामुखको भूमिका महत्पूर्ण हुने उहाँले बताउनुभयो । देवराज घिमिरेले त्यो भूमिका निर्वाह गर्न सक्ने नेम्वाङले बताउनुभयो ।
घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्ताव राख्दै नेम्वाङले घिमिरेले लामो समय राजनीतिमा बलिदान र दुःख गर्नुभएको बताउनुभयो । संसदीय अभ्यासमा पनि उहाँको राम्रो अनुभव भएकोले प्रतिनिधि सभाको सभामुख पद उहाँले वहन गर्न सक्ने उहाँले बताउनुभयो ।
