काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिनिधि सभा कसैको स्वार्थमा केन्द्रित हुनु नहुने बताउनुभयो ।
बिहीबार देवराज घिमिरेलाई प्रतिनिधि सभामा सभामुख बनाइयोस् भन्ने प्रस्तावको समर्थन गर्दै गृह मन्त्री समेत रहनुभएका लामिछानेले दलबाट निर्वाचित भएर आए पनि दलभन्दा माथि उठेर सांसदले काम गर्नुपर्ने बताउनुभयो । ‘संसद् नेपाली जनतामा समर्पित होस्’, लामिछानेले भन्नुभयो ।
सांसदहरूलाई जनताले आफ्नो भविष्य सुम्पिएका उहाँले बताउनुभयो । ‘संसद् आम नागरिकको हितमा काम गर्ने थलो बन्न सकोस्’, उहाँले भन्नुभयो ।
विगतमा नागरिकका समस्या समाधान गर्ने र नागरिकको हितमा कानुन बनाउने कुरामा संसद् चुकेको लामिछानेले बताउनुभयो । विगतमा राजनीति लाभ हानिको बढी खेल संसदमा भएका उहाँले बताउनुभयो । ‘अब त्यस्तो नहोस्’, लामिछानेले भन्नुभयो ।
गृह मन्त्रालय विधि र पद्धतिबाट एक कदम पनि बाहिर ननिस्कने उहाँले बताउनुभयो । काहीँ कसैको भनसुन नलाग्ने गरी स्वतन्त्र रूपमा गृह मन्त्रालयले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो । यस कार्यमा दबाब नदिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
विधिको शासन कायम गर्ने कुरा स्वतः सिद्ध सिद्धान्त भएको उहाँले बताउनुभयो । प्रक्रियागत काममा दबाब र प्रभावमा पार्ने प्रयास नगर्न उहाँले अनुरोध गर्नुभयो ।
