काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताउनु भएकाे छ ।
बिहीबार प्रतिनिधि सभामा सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानलेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको बताउनुभयाे ।
'देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ ।' उहाँले भन्नुभयाे- 'राजनीतिक हिसाबले फरक-फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ।'
मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको बताउँदै उहाँले भन्नुभयाे- 'हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ ।'
