काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले राष्ट्रको समस्या समाधानको निम्ति एक भएर जानु आवश्यक रहेको बताउनुभएको ।
बिहीबार प्रतिनिधि सभामा ईश्वरी न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको समर्थन गर्दै ज्वालाले प्रधानमन्त्रीलाई सबै दलले विश्वासको मत दिएर समस्या समाधानको लागि सबै दल एक भएर जान सक्छन् भन्ने सन्देश दिएको बताउनुभयो ।
राष्ट्र र राष्ट्रियताको पक्षमा निर्धक्कताको साथ काम गर्न प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उहाँले बताउनुभयो । भित्रका कोही कसैले गडबड गर्दा पनि प्रधानमन्त्री नहल्लिनुहोस् भनेर विश्वासको मत दिएको उहाँले बताउनुभयो ।
सदनले गर्नु पर्ने धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो । संघीयतालाई कार्यान्वयन गर्ने धेरै कानुन बनाउन बाँकी रहेको भनाइ छ । ‘धेरै कानुन बन्न बाँकी छन्’, उहाँले भन्नुभयो ।
